काठमाडौं ।
जेनजी आन्दोलनका संयोजक मिरज ढुंगानाले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहसँग निर्वाचन, संविधान संशोधन र देशको निकासबारे स्पष्ट जवाफ माग्दै सार्वजनिक प्रश्न र प्रस्ताव अघि सारेका छन्।
उनले हालको निर्वाचन प्रणाली, विशेषगरी समानुपातिक प्रणालीको दुरुपयोगले अपेक्षित परिवर्तन सम्भव छ कि छैन भन्ने प्रश्न उठाएका छन्।
ढुंगानाले रवि लामिछानेको पार्टीले कति सिट जित्ने अनुमान छ र निर्वाचनपछि आन्दोलनको चाहनाअनुसार संविधान संशोधन सम्भव हुन्छ कि हुँदैन भनेर सोधेका छन्। पछिल्लो निर्वाचनमा २१ सिट जितेको पार्टीले यसपटक १८४ सिट जित्न सक्ने आधार के हो भन्ने प्रश्न पनि उठाइएको छ।
उनका अनुसार संविधान संशोधनका लागि राष्ट्रिय सभा अनिवार्य भए पनि हाल रास्वपाको त्यहाँ प्रतिनिधित्व छैन। सहरी क्षेत्रमा संगठन विस्तार भए पनि दुर्गम गाउँसम्म प्रभाव नपुगेको यथार्थले आगामी ८–१० वर्षसम्म परिवर्तन रोकिने हो कि भन्ने शंका उनले व्यक्त गरेका छन्।
ढुंगानाले वैकल्पिक निकासका रूपमा ‘सडक संसद’ मार्फत नागरिक सरकार गठन गरी संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्। “यदि १८४ सिट नजिती र राष्ट्रिय सभामा प्रतिनिधि नहुँदा पनि संविधान सुधारको ठोस आधार देखाइदिनुभयो भने म सम्पूर्ण रूपमा चुनावी सहयोगमा लाग्छु,” उनले भनेका छन्।
एकताबारे पनि उनले प्रश्न उठाउँदै हतारको गठबन्धन चुनावपछि फुटे जनताले घाटा बेहोर्नुपर्ने चेतावनी दिएका छन्। “मन र धारणा मिलेर बनेको एकता हो कि चुनावी हतार ?” भन्ने प्रश्नसहित उनले स्पष्टता माग गरेका छन्।






प्रतिक्रिया दिनुहोस्