Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


शुक्लाफाँटामा जलपंक्षी गणना सुरु


130
Shares

काठमाडौं ।
कञ्चनपुरमा आजदेखि सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंछीहरूको अवस्था र संख्या अभिलेख गर्ने उद्देश्यले जल पंछी गणना सुरु गरिएको छ ।

नेपाल पंछी संरक्षण संघको समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गणनाका लागि गणक परिचालन गरिएको जनाइएको छ ।

गणनामा संघ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछीविद् संघ, कनेक्ट परियोजना, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पंछी संरक्षण समूहका प्रतिनिधि संलग्न छन् ।

नेपाल पंछी संरक्षण संघका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएसलगायतका उपकरणको प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपंछी गणना भइरहेको छ ।

हिँडेर पुग्न नसकिने ताल तलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिने छ । उहाँका अनुसार निकुञ्जभित्र जलपंछीका लागि प्रसिद्ध शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसारमा गणना भइरहेको छ ।

त्यसैगरी निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायत सिमसार क्षेत्रमा पनि गणना गरिनेछ । जलपंछी गणना माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।