काठमाडौं ।
सन् १९६४ को टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी पहिलो ऐतिहासिक खेलाडीमध्येका एक, पूर्व बक्सर नाम सिंह थापाको शनिबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित थापाले हङकङस्थित ‘हेभेन फ होप अस्पतालमा अन्तिम सास फेरेका हुन् । नेपाली बक्सिङ इतिहासका नक्षत्र मानिने थापा सन् १९६४ को ऐतिहासिक टोकियो ओलम्पिकमा भाग लिने चार बक्सरमध्ये एक थिए ।
मात्र १४ वर्षको उमेरमा ब्रिटिस सेनामा ब्वाय सोल्जरु का रूपमा भर्ना भएका उनले २र६ गोर्खा राइफल्समा कार्यरत रहँदा बक्सिङमा आफ्नो विशिष्ट पहिचान बनाएका थिए। उनले तत्कालीन राजा महेन्द्रको स्वीकृतिमा पहिलो पटक ओलम्पिकमा नेपालको झण्डा फहराउने सौभाग्य पाएका थिए।
नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई नेपाली खेलकुद क्षेत्रका लागि अपूरणीय क्षति बताएका छन्। उनले भने, बक्सिङ खेलप्रतिको उहाँको समर्पण र लगाव हामी सदैव सम्झिरहनेछौँ।
२७ वर्ष ब्रिटिस सेनामा सेवा गरी क्याप्टेन पदबाट अवकाश पाएका थापाले नेपालको राप्ती अञ्चलमा कल्याणकारी अधिकृतका रूपमा समेत सेवा गरेका थिए ।
हङकङको कोलोनी बेल्ट प्रतियोगितामा अन्यायपूर्ण निर्णय हुँदा समेत नागरिकताको प्रलोभनलाई त्यागेर नेपाली पहिचानलाई प्राथमिकता दिएका उनी एक सच्चा राष्ट्रभक्त खेलाडीका रूपमा चिनिन्थे । उनका श्रीमती, एक छोरा र चार छोरीहरू छन् ।






प्रतिक्रिया दिनुहोस्