Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


आगामी निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने: प्रवक्ता भट्टराई


234
Shares

काठमाडाैं। निर्वाचन आयाेगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ।

आयोगले शुक्रबार आयोजना गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्ताे जानकारी दिनुभएको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । जसमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेश गरेको उहाँले जानकारी दिनुभयो । बन्दसूची पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आ-आफ्नै निर्वाचन चिन्ह प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही ४ वटा साझा निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेश गरेका छन् ।

प्रवक्ता भट्टराईले यसअघि बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाईको काम गरिएको भएकोले सबै दलका चुनाव चिन्ह समेटेर मतपत्र छापिने गरेको बताउनुभयो । तर यसपटक भने समानुपातिक बन्दसूची पेश गरेका दलहरुको चुनाव चिन्ह मात्रै राखेर मतपत्रको छपाई गरिने उहाँले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या ५८ रहने करिब निश्चित भएको हाे । यद्यपि आयोगले बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूची अस्वीकृत भएमा सो संख्या घट्नसक्ने उहाँले बताउनुभयो ।

प्रवक्ता भट्टराईले बन्दसुचीमा समानुपातिक कलष्टर नमिलेको अवस्था र बन्दसूचीमा भएको उम्मेदवारले नाम फिर्ता लिन चाहेको बेलामा मात्रै बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न सकिने बताउनुभयो । अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उहाँको भनाइ छ । अन्तिम सूची प्रकाशित भएपछि भने केही गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा पर्यवेक्षण गर्नको लागि ४० वटा पर्यवेक्षण संस्थाले अनुमति पाएको बताउनुभएकाे छ।