काठमाडाैं। एमेच्योर राहुल विश्कर्माले सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् ।
साविक विजेता राहुलले प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा पराजित गरेका हुन् । राहुलले प्रो र एमेच्योर दुबैमा उपलब्धि हासिल गरेका छन् । त्यस्तै, जयराम श्रेष्ठले बिहीबार खराब प्रदर्शन गर्दै पाँच-ओभर ७७ स्कोर गर्दा समग्रमा इभन–पार दुई सय ८८ सहित दोस्रो स्थान प्राप्त गरेका छन् । प्रोतर्फ पहिलो भएका जयरामले १ लाख ७० हजार पुरस्कार प्राप्त गरेका हुन् । त्यसेगरी २ सय ९० को स्कोरमा तोरण विक्रम शाही र भुवन नगरकोटीले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरेका हुन् । उनीहरूले १ लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारेका छन् ।
नेपाल नम्बर एक प्रो निरज तामाङले समग्रमा तीन–ओभर २ सय ९१ को स्कोरमा पाँचौं स्थान हात पार्दै ८२ हजार नगद पुरस्कार प्राप्त गरेका हुन् । २ सय ९२ को स्कोरमा भुवन कुमार रोक्का, शुक्र बहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्त रुपमा छैठाैं भए भने उनीहरूले ६४ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेका छन् । एमेच्योर रूबेन एमेच्योरतर्फ दोस्रो भए भने अर्का एमेच्योर साम डोबलार्ड दशौं भए । ७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योरगरि कूल ६२ खेलाडीको सहभागिता थियो भने कूल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।
साेही प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ‘डेप्युटी जनरल म्यानेजर’ केशव प्रधान र नेपाल गल्फ संघ(एनजीए) का अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्