Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


कञ्चनपुरबाट जेनजी समूहद्वारा प्रतिनिधिसभा सदस्यमा राजीव नेपाली सिफारिस


3.2k
Shares

कञ्चनपुर ।

विगत लामो समयदेखि विद्यार्थी राजनीति तथा सामाजिक अभियानमा सक्रिय रहँदै आएका युवा नेता राजीव नेपाली कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट जेनजी उमेर समूह प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।

विद्यार्थी हकहित, सामाजिक न्याय र सुशासनका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका नेपाली पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय बन्दै गएका छन्। विपद्, संकट तथा सामाजिक समस्याका बेला जनताको सेवामा अग्रपंक्तिमा उभिँदै आएका उनी शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भूमिकाका लागि चिनिन्छन्।

विद्यार्थी जीवनदेखि नै मेधावी रहेका नेपालीले विद्यालय तहदेखि नै छात्रवृत्तिमार्फत अध्ययन गरेका थिए। उनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् भने हाल स्नातकोत्तर अध्ययनरत छन्। विद्यार्थी अवस्थामै शिक्षा क्षेत्रमा देखिएका विकृति, शैक्षिक माफिया, भ्रष्टाचार र विभेदविरुद्ध आवाज उठाउँदै उनी विद्यार्थी राजनीतिमा होमिएका हुन्।

भिनपा–५ का स्थायी बासिन्दा रहेका नेपाली हाल वडा कमिटी सचिवको जिम्मेवारीमा रहँदै सामाजिक सेवा, सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम तथा विपन्न वर्गका लागि सहयोग अभियानमा सक्रिय छन्। स्थानीयवासीका अनुसार उनी जनताको दुःख–सुखमा सधैं अग्रपंक्तिमा देखिने नेता हुन्।

अखिल ९क्रान्तिकारी० को २३औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेपालीले संगठनले दिएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै निर्वाचन क्षेत्रमा दुई क्याम्पसमा सम्पूर्ण प्यानलसहित विजय हासिल गरेका थिए।

“अनुशासन, विचार र इमान्दार प्रयासले मात्रै समाज परिवर्तन सम्भव छ” भन्ने विश्वास राख्ने उनी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्ने अठोटका साथ राजनीतिमा सक्रिय छन्। यही फागुन २१ गते हुने निर्वाचनमा कञ्चनपुर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उनी जेनजी उमेर समूहको प्रतिनिधित्व गर्दै सिफारिस भएका हुन्।

स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म नयाँ पुस्ताको आवाज बुलन्द बनाउने अपेक्षासहित उनको उम्मेदवारीलाई जनस्तरबाट सकारात्मक रूपमा हेरिएको छ।