काठमाडौं ।
सिरियाको उत्तरी शहर अलेप्पोको बाब अल–फराज क्षेत्रमा बुधवार प्रहरी गस्तीलाई लक्षित गरी गरिएको आत्मघाती बम विष्फोटमा एक व्यक्तिको मृत्यु भएको छ ।
आन्तरिक सुरक्षा बलका दर्जनौँ सदस्यहरू घाइते भएका छन् । सरकारी सञ्चारमाध्यम साना न्युज एजेन्सीकाअनुसार आक्रमणकारीले आन्तरिक सुरक्षा बलको गस्ती टोली नजिकै आफूलाई विष्फोट गराएका थिए ।
घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको छ भने सुरक्षा बलले सो क्षेत्रलाई घेरा हाली घटनाको अनुसन्धान शुरु गरेको छ। अल–इखबारिया टेलिभिजनकाअनुसार सुरक्षाकर्मीहरूले शंकास्पद व्यवहार देखेपछि जाँच गर्ने क्रममा ती व्यक्तिले आफूलाई विष्फोट गराएका थिए ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि घटनाको पुष्टि गरेको छ । यस आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन ।
सिरियाका विभिन्न शहरहरूमा सुरक्षा बल र सर्वसाधारणलाई लक्षित गरी भइरहेका श्रृंखलावद्ध आक्रमणपछि सुरक्षा व्यवस्था कडा पारिएको अवस्थामा यो घटना भएको हो । अधिकारीहरूले आक्रमणकारीको पहिचान वा विष्फोटको परिस्थितिबारे थप विवरण सार्वजनिक गरेका छैनन् ।





प्रतिक्रिया दिनुहोस्