Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नवाैं एनभिए भलिबलको पुरूषतर्फ आर्मी र रूकुम क्वाटरफाइनलमा प्रवेश

कीर्तिपुर र जावलाखेल भने पराजित

117
Shares

काठमाडाैं। त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम भलिबल क्लब नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘डी’ मा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो। आर्मी २५–१९,२५–२१,२५–२१ ले विजयी भएकाे छ। पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई पराजित गरेकाे आर्मी लगातार दोस्रो जितपछि समूहको विजेताका रुपमा नकआउट चरणमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपमा साेमबार भएकाे पहिलो खेलमा विजयी भएको रुकुम पश्चिम भलिबल क्वाटरफाइनलमा पुगेको थियो। च्याम्पियनसिपको चौथो दिन रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ ले पराजित गरेसँगै टोलीको अन्तिम ८ को यात्रा निश्चित भएको हो । पाकिस्तानी खेलाडीसम्मिलित रुकुम पश्चिम २५–२०,२५–१८,२३–२५,२५–१८ ले खेल जितेको छ ।

समूह ‘सी’ को आफ्नो पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० सेटले पराजित गरेकाे थियो। दुवै खेल जितेको रुकुम पश्चिम समूह ‘सी’ को विजेता बनेको छ । जावलाखेल र बुढानिलकण्ठबीचको विजेता समूहको उपविजेताका रुपमा नकआउट चरणमा पुग्ने भएकाे हाे।