
काठमाडौं ।
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका सबै वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । सकेसम्म पूर्ण एकता र त्यो सम्भव नभए कार्यगत एकतामार्फत अघि बढ्नुपर्ने उनको धारणा छ ।
आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै घिसिङले सही नेतृत्व र वैकल्पिक राजनीतिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, “सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरू एक भएर जान म आह्वान गर्छु ।”
उनका अनुसार नेपाली जनताको चाहना पनि यही हो । “आज नेपाली जनताले सबै वैकल्पिक शक्तिहरू एक भएर अगाडि बढून् र नयाँ नेतृत्व दिन सकून् भन्ने चाहना राखेका छन्,” वर्तमान सरकारका मन्त्रीसमेत रहेका घिसिङले भने, “यसलाई बुझेर हामी सबै त्यसतर्फ अघि बढ्नुपर्छ ।”
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएकै दिन घिसिङको यो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले यसअघि बालेन शाहसँग एकता तथा सहकार्यका विषयमा छलफलसमेत गरेका थिए । तर रवि र बालेन एक हुँदा घिसिङ भने हाल उक्त सहकार्यबाट बाहिर रहेका छन् ।
घिसिङले उज्यालो नेपाल पार्टीले सम्मान, आत्मसम्मान र स्वाभिमान कायम राख्दै सबैसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । यसका लागि गृहकार्य भइरहेको उल्लेख गर्दै उनले केही दिनमै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्