Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


श्रम संस्कृति पार्टी कसैसँग एकता नगर्ने हर्क साम्पाङको स्पष्टोक्ति


962
Shares

काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग पनि एकता नगर्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले श्रम संस्कृति पार्टीले “मिसावट विनाको राजनीति” गर्ने बताए।
उनले चुनावी माहोलमा विभिन्न अड्कलबाजी भइरहे पनि आफ्नो पार्टी कसैसँग नमिल्ने दोहोर्‍याए। “जो जससँग मिल्छ, मिल्दा हुन्छ। श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन,” उनले भने। पार्टीले देशको ढुंगा–माटोसँग जोडिएको स्वदेशी र मौलिक विचारको राजनीति गर्ने उनको जिकिर थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि साम्पाङको यो प्रतिक्रिया आएको हो। उनले कार्यकर्ता र शुभेच्छुकलाई एकताको विषयमा नअलमलिन आग्रहसमेत गरेका छन्।