Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


कडा प्रतिबन्धबीच म्यानमारमा मतदान सुरु, मतदाता सहभागिता न्यून


312
Shares

काठमाडौं ।

म्यानमारमा आइतबार कडा सुरक्षा प्रतिबन्धका बीच आम निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ। तर मतदान केन्द्रहरूमा पुग्ने मतदाताको संख्या अत्यन्त न्यून देखिएको छ।

सत्तारुढ सैन्य जुन्टाले पाँच वर्षदेखि जारी विद्रोह र गृहयुद्धपछि हुन लागेको यो निर्वाचनलाई देश लोकतान्त्रिक प्रक्रियातर्फ फर्किएको प्रमाणका रूपमा प्रस्तुत गरेको छ। तर प्रमुख राजनीतिक दलहरू विघटन भइसकेका छन् भने धेरैजसो विपक्षी नेताहरू जेलमा छन्। साथै जारी गृहयुद्धका कारण देशको करिब आधा भू-भागमा मतदान हुन नसक्ने अवस्था रहेको छ।

मानव अधिकारकर्मीहरू, पश्चिमा मुलुकका कूटनीतिज्ञहरू तथा संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुखले एक महिना लामो निर्वाचन प्रक्रियाको तीव्र आलोचना गरेका छन्। उनीहरूको आरोप छ-निर्वाचन प्रक्रिया सैन्य समर्थकहरूको पक्षमा धाँधलीपूर्ण बनाइएको छ र असहमत आवाजमाथि दमन जारी छ।

एएफपी समाचार एजेन्सीका अनुसार सैन्य समर्थक युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टी सबैभन्दा ठूलो दलको रूपमा उदाउने अपेक्षा गरिएको छ। आलोचकहरू भने यसलाई सैन्य शासनलाई नयाँ राजनीतिक आवरणमा वैधता दिने प्रयासका रूपमा व्याख्या गरिरहेका छन्।

करिब पाँच करोड जनसंख्या भएको दक्षिणपूर्वी एसियाली मुलुक म्यानमार लामो समयदेखि गृहयुद्धको चपेटामा छ। विद्रोही समूहहरूको नियन्त्रणमा रहेका धेरै क्षेत्रहरूमा मतदान प्रक्रिया नै सञ्चालन हुन सकेको छैन।

सैन्य शासनको नियन्त्रणमा रहेका क्षेत्रहरूमा तीन चरणमा मतदान गरिने जनाइएको छ। पहिलो चरण आइतबार स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको हो। दोस्रो चरणको मतदान जनवरी ११ मा र तेस्रो चरण जनवरी २५ मा हुने तय गरिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मतगणना कहिले सुरु हुने र अन्तिम निर्वाचन परिणाम कहिले घोषणा गरिने भन्नेबारे अझै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।