Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


हुस्सु र कुहिराेका कारण तराई क्षेत्रको जनजीवन प्रभावित

चिसोबाट बचाउन सरकारले चासो नदिएको स्थानीयकाे गुनासो

182
Shares

काठमाडाैं। मधेश प्रदेशको राजधानी जनकपुरलगायत तराईमा पछिल्ला दिनहरूमा घना हुस्सु-तुँवालोले जनजीवन प्रभावित बनिरहेको छ।

तराई क्षेत्रमा जाडो याममा नियमित रूपमा देखिने यो मौसमी समस्या यस वर्ष पनि उत्तिकै कष्टकर बनेको हाे । बिहानको समयमा दृश्यता निकै कम हुने भएकाले सवारी साधनहरूको गति सुस्त हुने गरेको छ । सडकमा हेडलाइट बालेर पनि गाडी चलाउन कठिनाइ भइरहेको चालकहरूले बताएका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । साथै जनकपुर विमानस्थलमा पनि हुस्सुका कारण उडानहरू प्रभावित भएका छन् । यसअघि नै जनकपुर, भैरहवा र सिमरा लगायतका विमानस्थलबाट उडान र अवतरण हुन नसक्दा विमानस्थल नै बन्द भएका छन् । चिसोले बजार, विद्यालय र कार्यालयहरूमा मानिसहरू ढिलो पुग्ने गरेका छन् भने अस्पतालहरुमा बिरामीको संख्या पनि बढेको छ।

विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरूमा श्वासप्रश्वासको समस्या बढेको हाे । चिसो बढेसंगै तराईका जिल्लाहरुमा स्थानीय तहहरुले विद्यालयमा विदा दिन थालेका छन् । चिसोबाट बचाउन जनकपुर महानगरपालिकाले ध्यान नदिएको जनकपुरका स्थानीयको गुनासो छ। उनीहरुले चिसोबाट जोगाउनका लागि स्थानीय सरकारले चोक चोकमा दाउरा बाल्ने व्यवस्था गरेमा राम्रो हुने बताएका छन् । मौसम विज्ञान विभागले तराई क्षेक्रमा हुस्सु लाग्ने त्रम अझै केही दिनसम्म कायम रहने जनाएको हाे।

विभागले निरन्तर हुस्सु लाग्दा चिसो बढ्ने र शितललहर चल्ने भएकाले सतर्ककता अपनाउन समेत आग्रह गरेकाे छ।