काठमाडौं । सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ ।
समूहका संयोजक मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने जानकारी दिएका छन्।
सरकारसँग असन्तुष्टि जनाउँदै जेनजी समूहले आफूहरूले अघि सारेका माग र मुद्दा सरकारले ‘अपहरण’ गरेको दाबी गरेको छ। प्रधानमन्त्रीको १०० दिन पूरा भएकै दिन आन्दोलन घोषणा गर्नुको कारण वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबुझेको ढुंगानाको भनाइ छ।
ढुंगानाले सरकारको कामप्रति असन्तोष व्यक्त गर्दै भने, “सुशीलाजीले के गर्नुभयो ररु केही पनि गर्नुभएको छैन। सुरुमा उदाहरणीय देखिए पनि अहिले सरकार कामचोर जस्तो देखिएको छ।” उनले सरकार समस्याप्रति गम्भीर नभएको आरोप लगाए।
प्रधानमन्त्री कसको समर्थनमा पदमा पुगेको भन्ने प्रश्न उठाउँदै उनले राजनीतिक स्थिरता र देशलाई निकास दिन सरकार असफल भएको बताए। शान्ति–सुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै उनले जनतालाई असुरक्षित अवस्थामा राख्नु स्वीकार्य नहुने उल्लेख गरे।
जेनजी आन्दोलनका प्रमुख एजेण्डामा संवैधानिक सुधारसहित राज्यको पुनःसंरचनात्मक परिवर्तन, राजनीतिक स्थिरता, निष्पक्ष न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीमाथि कडा कारबाही रहेका छन्। साथै दिगो विकास र समृद्धिका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठनको माग पनि अघि सारिएको छ।
आन्दोलनका क्रममा अभियन्तामाथि लगाइएका मुद्दा खारेज गर्न, पक्राउ परेका निर्दोष युवालाई तत्काल रिहा गर्न तथा आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न ढुंगानाले सरकारसँग माग गरेका छन्।
घाइते भएकाको उपचार, क्षतिपूर्ति र भरपोषणको व्यवस्था गर्न पनि उनले आग्रह गरे। ढुंगानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै सबैलाई भोलि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेका छन्।





प्रतिक्रिया दिनुहोस्