Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


कोशी प्राइड लिग (केपीएल) फागुनमा


0
Shares

काठमाडौं । कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण फागुन ९ गतेदेखि सुरु हुने भएको छ ।

कोशी प्राइड प्रालिको आयोजनामा प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुनेछ । केपीएलका निर्देशक अफजल हुसैनले यस संस्करणमा सात टिम सहभागी हुने जानकारी दिए ।

प्रतियोगितामा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमार्फत टिम मालिकहरूको पनि जानकारी दिइएको छ । नमुना ब्लास्टर्सका मालिक धर्म न्यौपाने, इटहरी आदर्श जायन्ट्सका कल्पित ढकाल, बिर्तामोड हिट्सका अनुराग प्रमानिक, पूर्वेली सुपर किंग्सका भरत कार्की, एभरेस्ट थन्डर्सका आकाश खड्का, बीएन कोशी अर्नाका मोहम्मद सेराज अन्सारी तथा गोर्खा एभेन्जर्सका विजय खड्का र पुजनबाबु भट्टराई रहेका छन् ।

प्रत्येक टिममा कम्तीमा ११ खेलाडी रहनेछन् । जसमा एक मार्की, एक ‘आइकोनिक’, राष्ट्रिय टिमबाट ‘ड्राफ्ट’ गरेर तीन खेलाडी लिइनेछ । क्याटगोरी ‘ए’ मा तीन, क्याटगोरी ‘बी’ मा दुई र क्याटगोरी ‘सी’ मा एक खेलाडी अनिवार्य रहने व्यवस्था गरिएको छ । प्रतियोगिताको ‘अक्सन’ मार्फत खेलाडीको खरिद गरिने बताइएको छ ।