काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ।
आयोगले बुधबार ७ वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जनाएकाे हाे। आयोगको निर्णय अनुसार ७ वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी स्थान तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयाे। उहाँका अनुसार तोकिएका मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।
जसमा मतदान केन्द्र ‘क’प्रदेश सभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख-उपप्रमुखका लागि तोकिएको छ। निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको आयाेगले जनाएकाे छ।
कुन प्रदेशको मतदान केन्द्र कहाँ ?
१. कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ
२. मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका-४ धनुषा
३. बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका-४ मकवानपुर
४. गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की
५. लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ
६. कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत
७. सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्