Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


बैंकका कर्मचारीमाथि आक्रमण र नियन्त्रणको घटनाप्रति ज्योति विकास बैंकको गम्भीर आपत्ति


442
Shares

काठमाडौँ ।

ज्योति विकास बैंकले आफ्ना कर्मचारीहरूमाथि भएको गम्भीर आपराधिक घटनाप्रति ध्यानाकर्षण गराउँदै घोर भर्त्सना गरेको छ ।

बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा। लि। का सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न गएको क्रममा बैंकका दुई जना कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण भएको हो ।

बैंकका क्षेत्रीय कार्यालय बर्दिबासबाट खटाइएका ती कर्मचारीहरू ऋणीसँग पूर्वसम्झौताअनुसार संवादका लागि फर्म रहेको स्थानमा पुगेका थिए । तर त्यहाँ फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले कर्मचारीहरूलाई नियन्त्रणमा लिई घण्टौँसम्म राखी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको जस्तो गम्भीर आपराधिक गतिविधि भएको बैंकले जनाएको छ ।

अपराधिक मनोवृत्तिबाट सुनियोजित रूपमा गरिएको उक्त घटनामा बहालवाला उपमेयरको समेत संलग्नता रहेको उल्लेख गर्दै बैंकले घटनालाई अत्यन्त खेदजनक प्रकट गरेकाे छ । कर्मचारीहरूलाई नियन्त्रणमा राखी धितो लिलामी स्थगनसम्बन्धी निर्णय केन्द्रिय कार्यालयबाट तत्काल लिखित रूपमा नआए ज्यान लिने धम्की दिइएको र सुरक्षा निकायबाट सहयोग नपाएपछि बैंक विकल्पविहीन अवस्थामा उक्त पत्र दिन बाध्य हुनुपरेको बैंकको भनाइ छ ।

ज्योति विकास बैंक नेपाल राष्ट्र बैंकका नीति, निर्देशन तथा प्रचलित ऐन–नियमको पालना गर्दै बैंकिङ व्यवसाय सञ्चालन गर्ने राष्ट्रियस्तरको विकास बैंक भएको उल्लेख गर्दै कर्मचारीहरू आफ्नो व्यावसायिक दायित्व पूरा गर्ने क्रममा यस्तो घटनाको शिकार बन्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाहरू अराजक र आपराधिक गतिविधिको निशानामा परिरहेको सन्दर्भमा आफ्ना कर्मचारीमाथि पनि यस्ता कार्य हुनु दुःखद भएको भन्दै बैंकले घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । साथै, दोषीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाहीका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकिएको र यस्ता आपराधिक कार्यविरुद्ध सदैव कडाइका साथ उभिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।