Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा


182
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउनुहुँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

विगतमाझैँ अहिले पनि त्यसको जिम्मेवारी काँग्रेसमाथि रहेको बताउनुभयो । देशलाई सम्हाल्ने जिम्मेवारी काँग्रेसमाथि आएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताउनुभयो ।

ठिक ढंगले काम गर्नसके निर्वाचन आफैँ जितिने उहाँको विश्वास छ । महामन्त्री थापाकाअनुसार राम्रो काम गर्नसके मतदाताहरु आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताउनुभयो । नेपाली काँग्रेसलाई मतले पछ्याउनसक्ने बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । हामीले हिजो देशलाई हिंसाबाट बाहिर निकाल्यौँ, देशलाई जातिय द्वन्द्वको सम्भावनाबाट बाहिर निकाल्यौँ । आज फेरि एक पटक नेपाललाई सम्हाल्ने काँग्रेसले जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

सबैलाई समेट्दै लैजाने जिम्मेवारी निर्वाह गर्नको लागि नेपाली काँग्रेसको प्रत्येक साथी अब छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ हामी काँग्रेस हौँ, केही गल्ती, कमजोरी भएको छ, त्यसलाई स्वीकार्छौं, सच्याउँछौँ भनेर समुदायको बीचमा जाने, नागरिकका बीचमा जाने काम ठिक ढंगले गरौँ । चुनाव आफैँ जितिन्छि । चुनाव चुनाव भन्नै पर्दैन, आफैँ आउँछ । मतदाताले आफैँ पछ्याउँदै आउँछ, भोटले आफैँ पछ्याउँदै आउँछ ।

हामी भोटलाई पछ्याउन गएर भोट आउँदैन । भोटले हामीलाई पछ्याउने बनाउन सक्नुपर्छ । मतले हामीलाई पछ्याउनसक्ने बनाउनुपर्छ ।’ महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भीडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली काँग्रेसको नभएको पनि बताउनुभयो । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताउनुभयो । नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी काँग्रेसको भएको बताउनुभयो ।

Skip This