काठमाडौं ।
ऊर्जामन्त्री कुलमान घिसिङले भारतसंग २४सै घण्टा विजुली दिन आग्रह गर्नुभएको छ ।
मंगलबार सिंहदरबारमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसंगको भेटवार्ताका क्रममा मन्त्री घिसिङले हिउँदयामका केही महिनामा नेपालमा आवश्यक पर्ने निश्चित परिमाणको विद्युत आयात गर्न पुसको दोस्रो हप्ताभित्रसम्मका लागि मात्र स्वीकृति पाएकाले त्यसपछि केही महिनामा पनि २४सै घण्टा आयात गर्न पाउने व्यवस्था गरिदिन आग्रह गर्नुभएको हो ।
भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरुको लगानीमा निर्माणाधीन आयोजनाको प्रगतिलगायतका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, ऊर्जा तथा जलस्रोत क्षेत्रका द्धिपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ (तेस्रो चरण)को नहरबाट शुख्खायामा नेपालतर्फ पानी पठाउने, भारतीय सरकारी कम्पनीबाट निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो तथा ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या, नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृति, हिउँदयाका महिनामा विद्युत आयातलगायतका विषयमा छलफल भएको जनाइएको छ ।
भारतको प्रतिश्पर्धी डे अहेड र वास्तविक समय (रियल टाइम) मार्केटमा विद्युत निर्यात गर्दा हरेक वर्ष स्वीकृति लिनुपर्ने प्रक्रियालाई एक पटक स्वीकृति लिएपछि पुनः लिनु नपर्ने व्यवस्था गरिदिन र भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ थप २० मेगावाट विद्युत पठाउन सकिने देखिएकाले त्यसका लागि आवश्यक सहमति उपलब्ध गराइदिन घिसिङले आग्रह गर्नुभयो ।
सचिव महावरले भारतका कम्पनीले नेपालमा निर्माण गरिरहेका जलविद्युत आयोजनाले बेहोरिरहेका समस्या समाधानका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो । उहाँले भारत–नेपालबीचको विद्युत व्यापार र प्रसारण पूर्वाधार विस्तार क्रमिक रुपमा नयाँ चरणमा प्रवेश गरेर ठूलो सफलता हासिल भइरहको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्