Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


अन्तर्राष्ट्रिय विज्ञद्वारा पहिलो पटक उसु प्रशिक्षक कोर्स सुरु


143
Shares

काठमाडौं ।

नेपालमा अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सँगको सहकार्यमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सुरु हुने भएको छ ।

नेपाल उसु महासंघको आयोजनामा हुने यो पाँच दिने महत्वपूर्ण प्रशिक्षण मंसिर २१ गते आइतबारदेखि काठमाडौँमा सुरु हुँदैछ । डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा मंसिर २५ गतेसम्म चल्ने यस कोर्समा सात प्रदेश र विभागीय टोलीका गरी करिब ६५ जना प्रशिक्षकहरूलाई प्रशिक्षण दिइने महासंघले जनाएको छ ।

महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाका अनुसार यस कोर्समा अन्तर्राष्ट्रिय उसु महासंघ ९आईडब्लुयूएफ० का उच्च प्राविधिक विज्ञहरूले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दा विधाका एई उईले सहभागी प्रशिक्षकहरूलाई तालिम दिनेछन् ।

महासचिव लामाले विशेषगरी अर्को वर्ष जापानको नागोयामा हुने २०औँ एशियाली खेलकुदमा मुख्य निर्णायकको भूमिकामा रहने प्राविधिक विज्ञद्वारा प्रशिक्षण दिन लागिएको जानकारी दिए । यो प्रशिक्षण नेपालका प्रशिक्षकहरूलाई समयसापेक्ष अन्तर्राष्ट्रिय परिवेशको उसुसम्बन्धी ज्ञान दिन र सन् २०२४ का नयाँ प्राविधिक नियमहरूसँग परिचित गराउन आवश्यक रहेको उनले स्पष्ट पारे ।

यो टेक्निकल कोर्सले नेपालको उसु खेलको प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा सुधार गर्ने अपेक्षा गरिएको छ । महासंघका सचिव निकेश श्रेष्ठका अनुसार यो प्रशिक्षणले आगामी २०औँ एशियाड, १०औँ जुनियर विश्व उसु च्याम्पियनसिप, डकार युथ ओलम्पिक र उसु वर्ल्डकप जस्ता प्रतियोगिताहरूमा नेपालको उपलब्धिमूलक सहभागितामा महत्वपूर्ण सघाउ पुर्‍याउनेछ ।

नेपालका प्रशिक्षकहरूको तालिमप्रतिको चासोलाई मध्यनजर गर्दै सामाजिक सञ्जालमार्फत जानकारी पाएपछि छिमेकी राष्ट्र भारतबाट समेत ६ जना प्रशिक्षकहरू थाउलोमा २ र सान्दामा ४ जना यस कोर्समा सहभागी हुन आएको महासचिव लामाले बताए । कोर्सको उद्घघाटन आइतबार बिहान ९ बजे कभर्डहलमा हुनेछ भने समापन मंसिर २५ गते रोयल सिंगे होटलमा गरिनेछ ।