Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


रूसी राष्ट्रपति पुटिन भारत प्रस्थान


429
Shares

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि प्रस्थान गर्नुभएकाे छ।

उहाँको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध शुरु भएपछिको पहिलो भारत भ्रमण हो। पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गर्नुभएकाे थियाे। यस पटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भइरहेको हो।

रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्नेछ। साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि मुख्य एजेन्डामा समेटिने भएका छन् ।

भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा व्यावसायिक निकायबीचका ज्ञापनपत्रहरू हस्ताक्षरका लागि तयारी अवस्थामा छन् । राष्ट्रपति पुटिन बिहीबार साँझ २३औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुग्ने कार्यक्रम तय गरिएकाे छ। प्रधानमन्त्री मोदीले उहाँको सम्मानमा निजी रात्रिभोजको आयोजना गर्ने तयारी गर्नुभएकाे हाे।

राष्ट्रपति पुटिनले शुक्रबार भारतकाे राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा त्रिसेवा गार्ड अफ अनर प्राप्त गर्नुहुने भएकाे छ। त्यसपछि उहाँले राजघाट पुगेर महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेकाे जनाइएकाे हाे।