Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

३१ अर्ब ७६ करोड बराबरको ऋण सहायता उपलब्ध

299
Shares

काठमाडाैं। नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालको समुपस्थतिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो। जापानले उक्त आयोजनाका लागि करिब ३१ अर्ब ७६ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ० दशमलव २ प्रतिशत ब्याजदर रहनेछ। यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ। जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । ऋण सहायतासँग सम्बन्धित एक्सचेञ्ज अफ नोटिसमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गर्नुभयो । त्यस्तै, ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनिराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि श्री मित्सुजाकी माजुकीले हस्ताक्षर गर्नुभयो।

साेही कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Skip This