डोटी । डोटीको शिखर नगरपालिकाका विभिन्न वडामा हालै परेको असिनापानीले पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्याएको छ ।
असोज १९ र २३ गते परेको असिनाका कारण वर्षभरिको खाद्यान्न जोहो गर्ने तयारीमा रहेका किसान समस्यामा परेका छन् । नगरपालिकाका कोटीगाउँ, गरुडी, लुल्लेक, तलकोटलगायतका क्षेत्रमा असिनाले धानबालीमा क्षति पुर्याएको छ ।
पाकेर पहेँलपुर भएका धानका बाला असिनाले झारेपछि किसानको मेहनत खेर गएको छ । कतिपय खेतमा पानी र हिलो जमेको छ भने अन्य स्थानमा धानका बाला भुइँमा झरेका छन् ।
बाली भित्र्याउने समयमा भएको क्षतिले किसानलाई आगामी दिनमा खाद्यान्नको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । वर्षभरि परिवारको आवश्यकता पूरा गर्ने मुख्य आधारका रूपमा रहेको धानबाली नष्ट भएपछि उनीहरू आर्थिक समस्यामा पर्ने देखिएको छ ।
क्षतिबाट प्रभावित किसानले स्थानीय तथा प्रदेश सरकारसँग राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । उनीहरूले क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्