काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएपछि सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले अब पार्टीभित्र कसैको हार वा जितभन्दा पनि जनताको विश्वास जित्नु मुख्य लक्ष्य हुने बताउनुभएको हो।
सभापतिमा निर्वाचित भएपछि शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्दै थापाले निर्वाचनमा फरक पक्षमा रहेका सबैलाई समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले कांग्रेसलाई जनताका समस्या समाधानका लागि आवाज उठाउने र आवश्यक नेतृत्व प्रदान गर्ने पार्टीका रूपमा स्थापित गर्ने बताउनुभयो । किसानदेखि व्यवसायी र आम उपभोक्तासम्म सबैले भरोसा गर्न सक्ने पार्टी बनाउन कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।
सभापति थापाले महाधिवेशनमा प्राप्त मतलाई प्रतिनिधिहरूको विश्वासका रूपमा लिएको उल्लेख गर्दै प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यासमा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले सभापति पदका प्रतिस्पर्धी तथा महाधिवेशनमा सहभागी हुन नसकेका नेताकार्यकर्तालाई समेत साथमा लिएर अघि बढ्ने बताउनुभयो । पार्टीभित्रको एकता बलियो बनाउँदै जनताको विश्वास आर्जन गर्नु नै अबको प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभयो।









प्रतिक्रिया दिनुहोस्