एजेन्सी। भारत सरकारले प्रधानमन्त्री कार्यालयको नाम परिवर्तन गरी ‘सेवा तीर्थ’ राखेको छ।
त्यस्तै, देशैभरीका राजभवनलाई अब ‘लोक भवन’ भनिने भएकाे हाे। भारतको केन्द्रीय सचिवालयलाई ‘कर्तव्य भवन’को नामले चिनिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री कार्यालयका अधिकारीका अनुसार भारतीय सरकार सत्ताबाट सेवातर्फ अगाडि बढिरहेको जनाएको छ। भारतमा भएका परिवर्तन प्रशासनिक नभई साँस्कृतिक भएको कार्यालयले उल्लेख गरेको छ।
यसअघि पनि केन्द्र सरकारले राजपथको नाम परिवर्तन गरी ‘कर्तव्य पथ’ राखेको थियो । प्रधानमन्त्रीको आधिकारिक निवास रेस कोर्स रोडलाई पनि सन् २०१६ मा ‘लोक कल्याण मार्ग’ मा परिवर्तन गरिएको थियो। केन्द्रीय गृह मन्त्रालयले गत वर्ष राज्यपालहरूको सम्मेलनमा भएको छलफललाई उद्धृत गर्दै राजभवन नामले औपनिवेशिक मानसिकतालाई झल्काउने बताएको छ। त्यसैले राज्यपाल र उपराज्यपालका कार्यालयहरूलाई अब लोक भवन र लोक निवासको नामले चिनिनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय अब ७८ वर्ष पुरानो साउथ ब्लकबाट ‘सेवा तीर्थ’ नामको नयाँ अत्याधुनिक क्याम्पसमा सर्ने भएको हाे। यो परिवर्तन सेन्ट्रल भिस्टा पुनर्विकास परियोजनाको महत्त्वपूर्ण हिस्सा मानिएको छ।





प्रतिक्रिया दिनुहोस्