Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

जन्तीलाई पनि कपडा र प्रसाद आदि दिएर बिदाई गरियाे

0
Shares

काठमाडाैं। जनकपुरकाे जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव अन्तर्गत रामकलेवा विधि सम्पन्न भएपछि यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ।

विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई विभिन्न परिकार खुवाउने परम्परा रहेको हाे। रामकलेवाकालागि रामसहित चारै भाइको प्रतिकको रुपमा रहेका बालक जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मडवामा बसेर भोजन ग्रहण गरेका थिए। मंगलबार राति विवाह भएकै मडवामा बसाएर चारै भाईलाई भोजन ग्रहण गराइएकाे हाे। रामकलेवा विधि चलिरहेकै समयमा मिथिलानी नारीहरुले गीतकै माध्यमले राम, भरत, लक्ष्मण र शत्रुध्न तथा अयोध्यावासीलाई गीतकै माध्यमले जिस्काएका थिए।

चारै भाइका साथै अयोध्याबाट आएका जन्तीहरुलाई समेत आदरका साथ भोजन ग्रहण गराइयो। जन्ती तथा राजा दशरथलाई समेत गीत गाउने महिलाहरुले मैथिली परम्परा अनुसार लोकगीत डहकन गाएर गाली गरेका थिए । सोही हास्यपरिहासको माहौलले जानकी मन्दिरको वातावरणलाई अदभूत बनाएको थियो।

रामकलेवामा सहभागी जन्तीहरुलाई कपडा र प्रसाद आदि दिएर बिदाई गरिएको छ।