Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


वर्षाले फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर फोहोर ननिकाल्न काठमाडौं महानगरको आग्रह


0
Shares

काठमाडौं। लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाको फोहोर सङ्कलन तथा ढुवानी सेवा प्रभावित भएको छ। महानगरपालिकाले केही समयका लागि फोहोर व्यवस्थापनमा समस्या हुने भन्दै नगरवासीलाई घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ।

महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै वर्षाका कारण फोहोर विसर्जन गरिने ल्यान्डफिल साइटमा समेत समस्या देखिएको जनाएको हो।

वर्षासँगै ल्यान्डफिल साइट क्षेत्रमा पहिरो जानुका साथै माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर बोकेका सवारीसाधनलाई साइटसम्म पुग्न तथा फोहोर विसर्जन गर्न कठिनाइ भएको महानगरले जनाएको छ।

यसका कारण नियमित फोहोर सङ्कलन तथा ढुवानी सेवा अनिश्चित समयका लागि प्रभावित हुने महानगरले स्पष्ट पारेको छ।

महानगरले फोहोर सङ्कलन नियमित नहुँदासम्म घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर आफ्नै परिसरमा सुरक्षित रूपमा राख्न आग्रह गरेको छ। सडक, चोक, सार्वजनिक स्थल तथा खोलानालामा फोहोर नफाल्न पनि महानगरले अनुरोध गरेको छ।

त्यस्तै, फोहोर व्यवस्थापन सहज बनाउन कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न महानगरले सुझाव दिएको छ। जथाभावी फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै ढल तथा नाला थुनिएर बाढी र डुबानको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले आग्रह गरेको छ।