Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


कर्फ्यू आदेशपछि पनि सिमरा तनावग्रस्त, प्रदर्शनकारीले प्रहरी बिट पनि जलाए

६ प्रहरी जवानसहित १० जना घाइते

11.9k
Shares

काठमाडाैं। बाराकाे सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरूले गरेको प्रदर्शन उग्र बनेको छ।

उनीहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हाे। सम्भावित जनधनको क्षति हुन नदिन भन्दै प्रशासनले बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

तर उक्त कर्फ्यूको प्रभाव देखिएको छैन । सिमरामा तनाव बढ्दै गएको छ। कर्फ्यू अवज्ञा गर्दै प्रदर्शन भइरहेको हाे। जेनजीका नाममा भएको प्रदर्शनका क्रममा प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाई फायर गरेको छ। प्रहरीमाथि पनि प्रदर्शनकारीले व्यापक रुपमा ढुंगामुढा गरेका हुन् ।

साेही क्रममा ४ जना जेनजी र ६ जना प्रहरी गरी कूल १० जना घाइते भएका छन् । सिमरा चोकबाट प्रदर्शनकारी युवाहरूको एक समूह विमानस्थलतर्फ अगाडि बढ्न खोजेपछि स्थानीयबासीले रोकेका हुन् ।उता सिमरा बजारस्थित प्रहरीको बिट पनि जेनजी प्रदर्शनकारीहरूले जलाइदिएका छन्। उनीहरुले उता नेकपा एमालेकाे कार्यालयका सामान बाहिर निकालेर जलाएका हुन्।

एमालेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको आरोपसहित जेनजीका नाममा भएको प्रदर्शन विध्वंशक भएको छ।