काठमाडाैं। जिल्ला प्रशासन कार्यालय बाराले जीतपुर सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि अवस्था क्रमशः सामान्य बन्दै गएको छ।
प्रशासनले बुधबार साँझ ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। बाराको परवानीपुरमा बुधबारका लागि आयोजना गरिएको युवा जागरण कार्यक्रममा सहभागी हुन नेकपा एमालेका नेता महेश बस्नेत लगायत जाने जानकारीपछि बाराका जेनजी युवाहरूले सिमरा चोकमा विरोध कार्यक्रम आयोजना गरेका थिए। त्यसपछि सोहि समूहले सिमरा विमानस्थल घेराउ गर्दा झडपको अवस्था सिर्जना भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपरेको थियाे।
कर्फ्यूपछि जीतपुर सिमराका शैक्षिक संस्था र वित्तीय संस्था तथा यातायात क्षेत्र आकस्मिक रूपमा बन्द भएका छन्। यता, जेनजी युवाहरूले सिमरा चोकमा शान्तिपूर्ण रूपमा टायर दहन गरी विरोध जारी राखेका छन्। प्रशासनले हाल अवस्था सामान्यतर्फ उन्मुख भइरहेको जनाएकाे हाे। प्रशासनक अनुसार आन्दोलनको नेतृत्व गर्नेविरुद्ध जाहेरी दर्ता भए कारबाही अघि बढाउने तयारी भएको छ।
जीतपुर सिमरा उपमहानगर पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज औद्योगिक करिडोरसँग जोडिएको महत्वपूर्ण स्थान हो। आकस्मिक रूपमा कर्फ्यू जारी भएपछि राजमार्ग र औद्योगिक करिडोर क्षेत्रमा सवारी साधन रोकिंदा सयौं यात्रुहरू अलपत्र परेको प्रशासनले जनाएको हाे।
बुधबार बिहानैदेखि सिमरा चोकमा विरोध गरिरहेका युवाहरूले विमानस्थलसम्म घेराउ गरेका थिए। विमानस्थल घेराउ गर्ने क्रममा प्रहरी र जेनजी युवाबीच झडपको स्थिति समेत उत्पन्न भएपछि प्रहरीले २ राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
आकस्मिक रूपमा कर्फ्यू आदेश जारी भएपछि विमानस्थलबाटै एमाले नेता फर्किएकाे समेत प्रशासनले जनाएकाे हाे।




प्रतिक्रिया दिनुहोस्