Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


कमला नदीमा अनौठो भूत मेलमा स्नान गर्ने भक्तजनको भीड


221
Shares

काठमाडाैं । कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ।

कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराकाबीच भक्तजनहरु आकर्षित गर्ने गर्छ । शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ। पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आइरहेका छन् ।

मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन् । धाँमी-झाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।

भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने जनविश्वास रहेको छ । तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन रहँदै आएको छ । स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्दछन् ।