Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


मिथिलाका शक्तिपीठमा देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न


234
Shares

नवीन सिंह

जनकपुर । जनकपुरका मिथिलावासी नारीहरूले सौभाग्यवती एवं सन्तानको कामना गर्दै देवी दुर्गाको खोइँछ भर्ने विधि सम्पन्न गरेका छन् ।

विवाहित मैथिल महिलाहरुले शक्तिपीठमा धान, दुबो , बेसारको गिँड , सिन्दूर, सुपारी,पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउँदै पराम्परागत खोइँछ भर्ने विधि सम्पन्न गरेका हुन् । भगवती दुर्गा असोज शुक्ल प्रतिपदाका दिन माइतमा आउने, ९ दिनसम्म माइतमै बस्ने र विजया दशमीका दिन ससुराली जाने गर्दछिन् भन्ने मान्यताको आधारमा खोइँछ भर्ने परम्परा रहि आएको छ ।

यो परम्परा कोखसँग सम्बन्धित रहेकाले भगवती दुर्गाको सान्निध्यताले आनन्द, सुख, आरोग्य र जन्म धन्य हुने विश्वासले मैथिल महिलाहरू खोइँछ भर्ने गरेका हुन् । जसका लागि मिथिलाञ्चलका शक्तिपीठहरु, देवी मन्दिर र देवीको प्रतिमा स्थलमा विवाहित मैथिल महिलाको घुइँचो लाग्दै आएको छ ।