Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २ सय बढी सडक र पुलकाे ठेक्का तोड्ने: मन्त्री घिसिङ


2.9k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २ सय ३४ सडक र पुलका ठेक्का तोड्ने बताउनुभएकाे छ ।

मन्त्री घिसिङले शनिबार सम्बद्ध अधिकारीसँग छलफलपछि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमक अन्तर्गत ३८, काठमाडौंका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्गका १७ वटा ठेक्का रुग्ण रहेकाे बताउनुभएकाे हाे । आयोजनाका तर्फबाट गर्नुपर्ने काम नगरी ठेक्कालाई रुग्ण बनाउन संलग्न तत्कालीन एवं हालका जिम्मेवार कर्मचारीलाई पनि छानबिन गर्न समिति बनाइने समेत उहाँले बताउनुभयाे ।

सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । मन्त्री घिसिङले भौतिक पूर्वाधार मन्त्रालयका सचिव तथा सहसचिवहरू, सडक विभागका महानिर्देशक, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखहरू र आयोजना प्रमुखलगायतसँग छलफल गरी ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभयाे ।