Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


आगामी निर्वाचन तोकिएकै समयमा गराउन सरकारको ध्यानाकर्षण गर्ने माओवादी केन्द्रकाे निर्णय


143
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले तोकिएकै समयमा आगामी निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटीको बैठकले यस्ताे ध्यानाकर्षण गराउने निर्णय गरेको हो । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको जानकारी गराउनुभयाे ।

जेनजी लगायत लोकतन्त्र, अग्रगमन, परिवर्तनका पक्षधरसँग वार्ता-संवाद गरेर समझदारी कायम गर्ने, समाजवादी मोर्चा, अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, देशभक्त र परिवर्तनकारी पार्टीहरू र सामाजिक संघ-संस्थाहरू सबैलाई समेटेर बृहत संयुक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको उहाँकाे भनाइ छ ।

माओवादीको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेण्डा तय गर्न बुधबार स्थायी कमिटीको बैठक बसेको थियो । स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेण्डा तय गरेको प्रवक्ता सापकोटाले बताउनुभयाे।