
काठमाडौं । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् ।
उनीहरुले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्ताे माग गरेका हुन् । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गरेर सोही माग गरेका हुन् । जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्म अनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएको जारी विज्ञप्तिमा भनिएकाे छ ।
उनीहरूको राजीनामा माग गर्नेमा केन्द्रीय प्रवक्ता डा. शरतसिंह भण्डारी, जनमत युवा संगठका संयोजक सञ्जय यादव, स्वास्थ्यकर्मी जनमत सङ्घका संयोजक सिके सिंह, सुदूरपश्चिम प्रदेशका इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्