Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


नेपालकाे इतिहासमा पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल


0
Shares

रमेश धमला

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ भएको सहमति अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राति ९ बजे अन्तरिम सरकारकाे प्रधानमन्त्रीका रूपमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराइने भएको छ।

नेपालकाे इतिहासमा पूर्वप्रधानन्यायाधीश कार्की प्रथम महिला प्रधानमन्त्री बन्न सफल हुनुभएकाे हाे । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले कार्कीको नियुक्ति र शपथग्रहण लगत्तै मन्त्रिपरिषदको पहिलो बैठक बस्ने भएकाे बताउनुभयाे। साेही बैठकले प्रतिनिधि सभा विघटनको निर्णय गर्ने र स्वीकृतिको निम्ति राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष सिफारिस गर्ने सहमति भएको छ।

मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति पाैडेलबाट स्वीकृत हुने उहाँले बताउनुभयाे ।आन्दोलनरत जेन९जी युवाहरूको मागअनुरूप संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

राष्ट्रपति पौडेल र जेनजी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्ने बारेमा कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो। राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनु भनिएकाे कार्यालयले जनाएकाे छ ।

तर आन्दोलनरत जेनजीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहेका थिए । साेही आधारमा वार्ता लम्बिँदै गएको थियो। अन्तत: शुक्रबार राति जेनजीकै माग अनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको छ।