१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


विचाराधीन विधेयकलाई अघि बढाउन राज्य व्यवस्था समितिकी सभापति न्यौपानेलाई सदस्यकाे सुझाव


780
Shares

काठमाडाैं । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।

सोही समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन समेत उनीहरुले सुझाव दिएका हुन् । समितिको मंगलबारको बैठकमा सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरूले समितिमा विचाराधीन रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्माणमुखी सामग्री व्यवस्थापन तथा प्रहरी विधेयक तत्काल अघि बढाउन समेत आग्रह गरेका थिए।

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले विधेयक निर्माणमा गम्भीर बन्न आग्रह गर्दै जनप्रतिनिधि मूलक थलोबाट निर्माण भएको विधेयक प्रमाणीकरण नभई फर्कने अवस्था नआउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले विधेयक निर्माणमा विगतको जस्तो त्रुटि नहुने गरी ध्यान दिन पनि आग्रह गर्नुभएको छ ।

त्यस्तै, नेकपा एमालेका सांसद पदम गिरीले समितिले निश्चित समयसीमा किटान गरेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । त्यसैगरी, जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले सुशासनको पालना समितिबाटै शुरु हुनुपर्नेमा जोड दिनुभयो ।