११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


पर्यटन विभागका निर्देशक यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर


1.755k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले आर्जन गरेको ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको भन्दै आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको आयोगले जनाएको छ ।

आयोगले यादवविरुद्ध सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ आशा कुमारी यादवलाई समेत प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । पर्यटन विभागका निर्देशक यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा आयोगले अनुसन्धान अघि बढाएको थियो ।

आयोगले जाँच अवधिमा उनको खर्च र बैंक मौजदात समेत गर्दा ३ करोड ६५ लाख ४ हजार ४ सय ५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी गरेको देखिएको छ । त्यसका कारण जाँच अवधिमा यादवको ९६ लाख ८५ हजार ५ सय ५३ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको आयोग ठहर गरेको हो ।

आयोगले त्यति नै रकम विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।