
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताउनुभएको छ ।
काठमाडौंमा बुधबार नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । माओवादीकाे जनयुद्धलाई सामाजिक रुपान्तरणको मुख्य वाहकका रुपमा बुझ्न समेत उहाँले आग्रह गर्नुभएको छ। नेपालमा माओवादी संघर्ष कम्युनिष्ट नेताहरू मार्क्स, एंगेल्स, लेनिन र माओका ग्रन्थ पढेर मात्रै शुरु नभएको उहाँको दावी छ ।
नेपालकै विगतको विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा युद्ध थालिएको उहाँको भनाइ थियो । संसदीय अंकगणितका कारण माओवादी केन्द्रको संघर्ष कठिन भएको अध्यक्ष दाहालको दावी छ । ७ सय ५३ वटै पालिकामा माओवादी जनयुद्धका संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रुपमै रहेको अध्यक्ष दाहालको दावी छ।
प्रतिक्रिया दिनुहोस्