Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा


143
Shares

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले माओवादी आन्दोलनको पुनर्गठन र पुनर्जागरण आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नयाँ पुस्ताले नेतृत्व लिएर माओवादी आन्दोलनको पुनर्गठन गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले विगतको जनयुद्धको नेतृत्व गरेको पुस्ताले माओवादी आन्दोलनलाई अब अगाडी बढाउन नसक्ने बताउनुभयो ।

माओवादी आन्दोलनका बाँकी एजेण्डालाई नयाँ पुस्ताले अघि बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले माओवादी आन्दोलनले संविधानमा समावेश गरिएका अधिकारको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले समानुपातिक प्रतिनिधित्व र समानताको अधिकार कार्यान्वयनमा देखिएका विकृतिप्रति चिन्ता पनि व्यक्त गर्नुभयो ।

माओवादी आन्दोलनले समयअनुसार विचार विकास गर्दै नयाँ चुनौतीको सामना गर्न नसक्दा प्रतिक्रान्तिको अवस्था सिर्जना भएको उहाँको भनाई छ । बन्दुकको लडाइँ मात्र क्रान्ति नभएको उल्लेख गर्दै उहाँले संविधान सभा, शान्ति प्रक्रिया र जनताका समस्या समाधान गर्ने संघर्ष पनि क्रान्तिकै निरन्तरताका रहेको उल्लेख गर्नुभयो । हाल माओवादी आन्दोलनले जनताका समस्या समाधान गर्ने दिशामा आफूलाई अघि बढाउन नसकेको उहाँको भनाई छ । उहाँले अहिले संविधान, लोकतन्त्र, समावेशिता र राष्ट्रियताको संरक्षणका विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताउनु भयो । पछिल्लो राजनीतिक परिस्थितिले प्राप्त उपलब्धि नै संकटमा पर्न सक्ने खतरा उत्पन्न भएको उहाँको भनाई छ । प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ ढंगले राजनीतिक पहल आवश्यक रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनयुद्धसम्म एउटा बन्दुक लडियो, त्यसपछि संविधान सभामा लडियो, त्यसपछि शान्ति प्रक्रियामा जनताका समस्याहरूको समाधान गर्ने कुराको लडाइँ नै क्रान्ति हुन्थ्यो । त्यतातिर माओवादी आन्दोलनले त्यो दिशा लिन नसक्नु मुख्य समस्या भएको कारणले प्रतिक्रान्ति भयो यो देशमा । अब यो संविधान पनि के हुन्छ, लोकतन्त्र रहन्छ कि रहँदैन ? हाम्रो राष्ट्रियता यतिबेला कति सङ्गीन घडीमा छ, राष्ट्रियता कति खतरामा छ भन्ने कुरा तपाईं हामी सबैले अनुभुत गरेका छौँ । यसको रक्षा हामी गर्न सक्छौँ कि सक्दैनौँ ? संविधान नरहँदा यो लोकतन्त्र नरहँदा यो समावेशिता आदि त्यस्ता कुरा त त्यो अर्कै कुरा भइहाल्यो । कहाँ पुग्ला ? सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । हाम्रा उपलब्धिहरू आज समाप्त हुँदै गर्दा अब फेरि एकपटक नयाँ सिराबाट, नयाँ ढङ्गले, नयाँ पुस्ताले जो राजनीतिक सुझबुझ भएको पुस्ता होस्, नयाँ पुस्ताले माओवादी आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ । यसको पुनर्जागरण गर्नुपर्छ । माओवादी आन्दोलनका एजेण्डा अहिले पनि बाँकी छन् । त्यो आवश्यकता अहिले पनि छ । त्यसलाई पुनर्गठित गर्नुपर्छ । त्यसमा मैले आफ्नो तर्फबाट सहयोग र योगदान गर्न म तयार छु, तर मेरो शर्त के छ भने नयाँ पुस्ताले आएर यसको नेतृत्व गर्नुपर्छ । यहाँनिर पुस्ताको कुरा आउँदा एउटा कुरा आउँछ, को कति वर्षमा भन्दा सक्षम र असक्षमको कुरा हो, पुस्ताको कुरा गरेको हैन मैले । अब हिजो जनयुद्ध लडेर त्यसको नेतृत्व गरेको जो टिम थियो, त्यो असक्षम भइसक्यो । हामीभन्दा पछिल्लो पुस्ता जो छ, तपाईँहरूले पुनर्गठन गर्नुप¥यो ।’
माओवादी आन्दोलनका एजेन्डा अझै सान्दर्भिक रहेको दाबी गर्दै उहाँले नयाँ पुस्ताले आन्दोलनको पुनर्गठन र पुनर्जागरण गर्न अघि बढेमा सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले पुस्तान्तरणलाई उमेरसँग मात्र जोड्न नहुने स्पष्ट पार्दै नेतृत्वको क्षमता र योग्यतालाई मुख्य आधार बनाउनुपर्ने बताउनुभयो । राजनीतिक सुझबुझ भएको नयाँ पुस्ताले आन्दोलनको नेतृत्व लिएर बाँकी रहेका राजनीतिक एजेण्डालाई अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।