
दिपक आचार्य
काठमाडाैं । कम्युनिष्ट पार्टीहरु गोलबन्द भएर अगाडि बढ्ने भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाबीचमा एकीकरण गरी नेकपा बन्यो ।
तर त्यो लामो समय टिक्न सकेन । एमाले र माओवादी पुरानै अवस्थामा त फर्किए । तर नेकपा हुँदाको शक्ति सघर्षकै कारण एमाले नै विभाजन हुन पुग्यो । लामो समय एमालेको नेतृत्व गर्नुभएका माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पाटी गठन गरियो । नेकपा एकीकृत समाजवादी गठनको ४ वर्ष पुग्दा एमालेबाट विद्रोह गर्नुको औचित्यमाथि सोही पार्टीभित्रैबाट प्रश्न उठाउन थालिएको छ ।
माधव कुमार नेपालको नेतृत्वमा एमालेबाट विद्रोह गर्दै गर्दा अध्यक्ष केपी शर्मा ओलीमाथि निषेधको राजनीति गरेको, गुटमा रमाएको र संघीयता धर्मनिरपेक्षता लगायतका परिवर्तन विरुद्ध लागेको जस्ता आरोप लगाइएको थियो । ओलीसँग मिलेर अगाडि बढ्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै नेपाल, झलनाथ खनाल र रामकुमारी झाँर्की लगायतको संक्रियतामा एमालेबाट विद्रोह गर्दै नेकपा एस गठन गरियो ।
निर्वाचन आयोगले सोही पार्टीलाई २०७८ साल भदौं ९ गते दर्ता गर्दै नयाँ दलको मान्यता दियो । कम्युनिष्टहरुलाई गोलबन्द गर्ने उद्घोषका साथ गठन भएको नेकपा एस आफैं राष्ट्रिय पार्टी त हुन सकेन नै, त्यसमाथि पार्टी गठनको ४ वर्ष पुग्दा पार्टी विभाजनको कदम ठिक थियो त ? भन्ने प्रश्न दलभित्र नै उठेको हाे। त्यो पनि पार्टीका वरिष्ठ नेताको हैसियतमा रहेका नेता खनालले नै विद्रोहको औचित्य पुष्टि हुन नसकेको भनेर नयाँ बहस सिर्जना गरिदिनुभएको छ ।
नेता खनालले एमालेबाट गरिएको विद्रोह पुष्टि गर्न नसकिएको भनेर दिएको अभिव्यक्तिले एकीकृत समाजवादीभित्र ठूलै हलचलको अवस्था ल्याएको हाे । पार्टी अध्यक्ष नेपाल र नेता खनालका वीचमा सार्वजनिक जुहारी नै पनि चल्यो । यतिसम्मकी खनाललाई नेपालले पाटी छाडेर जाँदा हुन्छ समेत भन्न पछि पर्नुभएन ।
यो त एकीकृत समाजवादी भित्रको पछिल्लो घटनाक्रम हो । त्यस अघि पनि यो दलभित्र समय-समयमा बवण्डर हुँदै आएका छन् । बितेका ४ वर्षमा पटक-पटक नेकपा एस विभाजनको प्रयास समेत भइसकेको छ । अहिले पनि संसदीय दल भित्र र अन्य कमिटीहरुमा समेत विवाद कायमै छ । एमालेभित्र प्रभावशाली नेताको छवि बनाएका घनश्याम भुसाल एसमा गएर महासचिव बनेपनि आन्तरिक विवादमा हस्तक्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव बढाउन सकेको देखिदैन ।
अहिले बामदेव गौतम समेत समाजवादी प्रवेश त गर्नुभयो तर शुरुवातमै भूमिकामा असन्तुष्ट देखिनुभएको छ । यो अवधिमा एकीकृत समाजवादीले कहिले समाजवादी मोर्चालाई सक्रिय बनाउने त कहिले माओवादी केन्द्रसँग एकता गर्ने छलफल केन्द्रित हुँदा आफ्नो पार्टीको लक्ष्य र भविश्य के भन्ने प्रश्न पनि निरन्तर उठिरहेको छ ।
जुन परिस्थितिमा पाटीको जन्म भएको थियो ।त्यसपछिको राजनीतिक वातावरण परिवर्तन हुनु र आन्तरिक समस्या थपिंदै जाँदा उसले तय गरेको लक्ष्य अनुसार अगाडि बढ्न नसकेको विश्लेषण भइरहेको राजनीतिक विश्लेषक पिताम्वर भण्डारीले बताउनुभयाे । यस्तो अवस्थामा नेकपा एकीकृत समाजवादीले छुट्टै अस्तित्व नै जोगाएर कसरी अगाडि बढ्ला भन्नेमा आंशका बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्