४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


खानेपानी-सिंचाइको क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनुपर्नेमा मन्त्री यादवको जोड


143
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिंचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताउनुभएको छ ।

काठमाडौं बुधबार नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री यादवले कृषिमा भूमिगत सिंचाइको दिगो प्रयोगको लागि अध्ययन तथा अनुसन्धान जस्ता कार्यहरु वैज्ञानिक तथ्यहरुमा आधारित भएर अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभयो,-‘राष्ट्रको समृद्धिका लागि भूमिगत जलको उपयोग, दिगो व्यवस्थापन, भूमिगत जलको प्रदूषणबाट सिर्जित प्रकोप न्यूनिकरण, वातावरण विनाश, जलवायु परिवर्तन तथा यसका असरहरू न्यूनिकरणका विषयमा केन्द्रित रहेर महत्वपूर्ण छलफल र योजना आवश्यक छ ।’

नागरिकको पहिलो आवश्यकता खानेपानीको सहज आपूर्ति तथा देशको आर्थिक समृद्धिको मूल आधार मानिने समेत उहाँले बताउनुभएको छ । सोही अनुसार कामहरु अगाडि बढाउन आवश्यक रहेको मन्त्री यादवको भनाइ छ । उहाँले जलस्रोतको उपयोग, व्यवस्थापन र संरक्षणका सन्दर्भमा वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तनका गहिरिंदै गएका प्रभावहरू र अनियन्त्रित जनसङ्ख्या वृद्धिका कारण सतहमा रहेका जलस्रोतहरूमा अत्यधिक चाप परेको उहाँले बताउनुभयो । जसको प्रत्यक्ष असर भूमिगत जल स्रोतको तीव्र दोहनका रूपमा देखिएका कारण दीर्घकालीन रूपमा गम्भीर समस्या बन्न सक्ने मन्त्री यादवको भनाइ छ ।

उहाँले नेपालमा विशेषगरी तराईका लाखौं नागरिकको जीवनमा भूमिगत जलको प्रत्यक्ष प्रभाव रहेको समेत बताउनुभयो । मन्त्री यादवले यसको महत्व अझै पनि व्यापक रूपमा बुझ्न नसकिएको भन्दै दुस्ख समेत व्यक्त गर्नुभएको छ। उहाँले यस सम्मेलनबाट प्राप्त हुने सुझाव तथा निष्कर्षहरू संघीय र प्रदेश सरकारलाई उपलब्ध गराई, विशेषगरी खानेपानीको अभावले सङ्कटमा परेका क्षेत्रहरूको दीर्घकालीन समस्या समाधानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जलवायु परिर्वतनका कारण तराईमा चापाकल सुकेका कारण नागरिकहरू तराईसहित विभिन्न स्थानमा खानेपानीको समस्याबाट पीडित भएको बताउनुभएको छ । सोही समस्याको मन्त्रालय र विभाग मिलेर तत्काल राहत तथा दीर्घकालीन समाधानका लागि योजनाबद्ध रूपमा काम गरिरहेको समेत उहाँको भनाइ थियो ।

त्यसैगरी जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक मित्र बरालले भूमिगत जल स्रोतको संरक्षण, दीर्घकालीन उपयोग र जल संकट समाधानको मार्गमा यस्ता सम्मेलनहरू महत्वपूर्ण मञ्च बन्ने बताउनुभयो ।

सोही कार्यक्रममा नेपालका साथै विदेशबाट पनि जल व्यवस्थापनसँग सम्बन्धित ख्यातिप्राप्त विज्ञ, नेपाल सरकारका विभिन्न निकायहरू, त्रिभुवन विश्वविद्यालय, गैरसरकारी संस्था तथा सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरू, करिब १ सय ५० भू–वैज्ञानिक, भूमिगत जल विज्ञ, इञ्जिनियर र वातावरण विज्ञ लगायतको सहभागिता रहेको थियो ।