
काठमाडौं, भदौ ३१ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न डीआइजी धिरु बस्नेतको नेतृत्वमा नयाँ छानविन समिति गठन गरेको छ ।
सीआइबीको छानविन टोलीका सदस्यहरुसहित ६ जना प्रहरी निलम्बन गरेको भोलिपल्ट प्रहरी हेडक्वार्टरले आज ९ सदस्यीय समिति बनाएको हो । हेडक्वार्टरले गत भदौ १४ गते एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छानविन समिति गठन गरेकोमा सोही समितिलाई विस्तार गर्दै ९ सदस्यीय बनाइएको हो भने समितिको नेतृत्व डीआइजी बस्नेतलाई दिइएको हो ।
समितिमा एसएसपीद्वय उत्तम सुवेदी र नरेश शाही सदस्य छन् । समितिलाई पोलिग्राफ र सीबीआर टेष्ट गर्ने अधिकारसमेत दिइएको नेपाल प्रहरीले जनाएको छ ।
समितिले निलम्बनमा परेका सवै प्रहरीसँग समेत बयान लिने जनाइएको छ । आवश्यकता अनुसार पोलिग्राफ र सीबीआर टेष्टसमेत गर्न सक्ने जनाइएको छ ।
गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बनाएको छानविन समितिले निर्मलाको बलात्कारपछि हत्या छानविनमा प्रहरीले शुरुमै गम्भीर लापरवाही गरेको भन्दै नयाँ शिराबाट छानविन गर्नुपर्ने सुझाव दिएको छ । गत साउन १० गते दिउँसो साथीको घरमा गएकी निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्