
काठमाडौं, भदौ ३० । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेस गरिएको छ ।
हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत् अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले शनिबार गृहमन्त्रीसमक्ष प्रारम्भिक प्रतिवेदन पेस गरेको हो ।
प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धानकार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीसमेतलाई आजैको मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले प्रतिवेदनले औंल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याइ अनुसन्धानकार्य अगाडि बढाउन निर्देशन भएको बताए ।
पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिइ अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जोकोही संलग्न भएपनि कानुनी दायरामा ल्याइ कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइएको छ ।
मन्त्रालयले अपराधी पत्ता लगाइ कारबाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्