नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने पहाड क्षेत्रमा भाँसिएको सडक मर्मत भइरहेकाले बुटवल–नारायणगढको यात्रा कठिन भएको छ ।
सोमबार साँझदेखि भाँसिएको सडक मंगलबार दिनभरजसो मर्मत गरिएपनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बुधबार बिहानैदेखि फेरि मर्मत कार्य सुरु गरिने जनाइएपनि सिमसिमे पानी परिरहेको र लेदो खसिरहेकाले काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
मंगलबार दिउँसोदेखि पहाड काटेर भाँसिएको सडक मर्मत गरेर एकतर्फी सवारी साधन सञ्चालन गरिएको थियो । तर, रातिदेखि परेको पानीका कारण सडकमा रहेको माटोलाई लेदो बनाएपछि अहिले यातायात सञ्चालनमा कठिनाइ भएको पौडेलले बताउनु भयो ।
दाउन्नेको प्रमुख बजारको पूर्वतर्फ करिब ५० मिटरको सडक भाँसिएको छ । ५÷७ मिटरको दरले पहाड काट्दैं सडकलाई मर्मत गराउँदै आइएको थियो । पानी परिरहेकाले पहाड काटेर मर्मत गर्न सम्भव नभएकाले सडकको लेदो हटाउँदै २÷२ घण्टाको अन्तरालमा केही गाडीहरु पास गराउँदै आउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
पानी नरोकिए बुधबार दिनभर पनि सडक पूर्णरुपमा सञ्चालन हुन कठिन देखिएको प्रहरीले जनाएको छ । सडक अवरोध भएपछि पूर्व पश्चिम भएर चल्ने सवारी साधनहरु पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्किवासमा रोकिएका छन् ।








प्रतिक्रिया दिनुहोस्