काठमाडौं । राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसदको प्रत्यक्ष प्रशारणमा सांकेतिक भाषाका लागि दोभासे राख्न सरकारसँग माग गर्नुभएको छ ।
बुधबारको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै संसद परियारले सरकारसँग यस्तो माग गर्नुभएको हो ।
संसद परियारले संसदको गतिविधिबाट नेपालका हजारौं बहिरा समुदाय वञ्चित भएको भन्दै तत्काल संसदमा भएका गतिविधिलाई सांकेतिक भाषाका लागि दोभासे राख्न माग गर्नुभयो । उहाँले बहिरा समुदायले सूचना पाउने एक मात्रै आधार सांकेतिक भाषा भएकाले त्यसको व्यवस्था गर्न माग गर्नुभयो ।
संसद परियारले संघीय संसदमा भएका सबै काम कारबाहीहरुबाट नेपाली बहिरा समुदायहरु विमुख भएको उल्लेख गर्नुभयो । उहाँले संसदको प्रत्यक्ष प्रशारण र रेकर्डिङ सांकेतिक भाषामा पनि हुन आवश्यक रहेको बताउनुभयो । उहाँले बहिरा समुदायको पनि नीति निर्माण गर्ने थलो भएकाले संसदमा भएका गतिविधि थाहा पाउनुपर्ने उल्लेख गर्नुभयो ।
परियारले प्रतिनिधि सभामा पारित भइसकेको बजेटको सम्बन्धमा राष्ट्रिय सभामा छलफल गर्नुको कुनै उपादेयता नभएको बताउनुभयो । उहाँले राष्ट्रिय सभामा बजेट बारेमा छलफल गर्नुको तात्विक अर्थ नभएको बताउनुभयो । उहाँले बजेटका सम्बन्धमा अबपनि छलफल गर्नु खर्च गर्नु मात्रै भएको बताउनुभयो । उहाँले सभामुख र राष्ट्रिय सभा अध्यक्षको समन्वयमा दुवै सदनबाट एकैपटक पारित गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
उहाँले कानूनी व्यवस्था नै नमिल्दो रहेको भन्दै यस सम्बन्धमा कानूनी व्यवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्