Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन


156
Shares

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ ।

प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गर्नुभएको थियो । पौडेललाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए । कृष्णमन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

१७ औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण सो मन्दिर निर्माण भएको थियो । द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।