काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।
दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।
पछिल्लो समय हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या क्रमशः घट्दै गएको रेवान सौराहाका पूर्वअध्यक्ष गोकर्ण गिरीले जानकारी दिए । कोरोना महामारीपछि सौराहा आउने २५ प्रतिशत पर्यटकमात्र हात्ती सफारी गर्ने गरेको उनले जानकारी दिए । हात्तीको गतिविधि चहलपहल नहुँदा सौराहाको पर्यटनमा समेत असर गरेको उनले बताए ।
पहिला सरकारी हात्तीमा चढेर निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न पाइन्थ्यो । तर अहिले सरकारी हात्तीले पर्यटक बोक्न छाडेका छन् । चितवनको सफारी पर्यटनलाई जोगाउन सौराहाका व्यवसायीले करिब २० वर्षअघिदेखि हात्ती पाल्न सुरु गरेका हुन् । कोरोना महामारी सुरु हुनुभन्दाअघि हात्तीलाई भ्याइनभ्याइ हुन्थ्यो । कोरोना सुरु भएपछि हात्ती करिब चार वर्ष बेकामे बने । पाल्न नसक्ने भएपछि हात्ती बिक्री गर्नुपरेको व्यवसायी नगेन्द्र चापागाईँ बताउछन् ।









प्रतिक्रिया दिनुहोस्