Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


पर्यटक लोभ्याउने तिम्बुङ पोखरीमा महोत्सवको तयारी


0
Shares

सन्तोष पुर्कुटी

ताप्लेजुङ, भदौ १७ । बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षण गर्ने ताप्लेजुङका धेरै गन्तव्यमध्ये तिम्बुङ पोखरी पनि एक हो । हिमाली क्षेत्रको सौन्दर्यतासँग लुकामारी खेल्दै तिम्बुङ पोखरीको दर्शन तथा अवलोकन गर्न जानेको वर्षेनि लर्को लाग्ने गर्छ ।

ताप्लेजुङ सदरमुकामदेखि दुई÷तीन दिन सम्मको पैदल यात्रा पछि पुगिने तिम्बुङ पोखरी सम्मको यात्रा झ्वाट्ट सुन्दा धेरै कठिन झैँ लाग्छ । तर एकपटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै बसिरहुँ जस्तो लाग्ने धार्मिक, जैविक एवं प्राकृतिक सुन्दरताले भरिपुर्ण तिम्बुङ पोखरीमा वर्षेनि साउनदेखि असोज महिनासम्म आन्तरिक पर्यटकहरुको लर्को लाग्ने गर्छ ।

मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साविकको कालिखोला गाविसमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको क्षेत्र हो ।

चार हजार ४८१ मिटरको उचाईमा रहेको पोखरी ४ सय ६६ मिटर उत्तर–दक्षिण लम्बाई र १४५ मिटर पूर्व–पश्चिम चौडाई रहेको जानकारहरु बताउँछन् । उक्त पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै गरि आवाज आउने गरेको बताईन्छ ।

समाजसेवी गजेन्द्र प्रसाद तुम्याहाङले जानकारहरुलाई उद्धृत गर्दै लिम्बु भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताए । उनका अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बु भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामाकरण भएको पनि बताउने गरेका छन् ।

वर्षौ पहिले अंग्रेजहरुले भारतमा शासन गर्दा पोखरीमा बहुमुल्य धातु हुन सक्ने भन्दै तल्लो भागबाट कुलेसो बनाएर पानी फाल्दा त्यहीँ मृत्यु भएको जनश्रुति पनि छ । उक्त पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा बृद्धि हुने कुरामा स्थानीयको विश्वास रहेको पाईन्छ । अर्कातिर पोखरीको दर्शन गरे मनोकांक्षा पुरा हुने र भए गरेका पापबाट मुक्ति पाईने जनविश्वास रहि आएको छ ।

पहाडको टाकुरामा रहेको यो पोखरीलाई जति हेरे पनि हेरिरहुँ लाग्ने गरेको सिरिजंघा निवासी मोहन भट्टराई बताउँछन् । एकातर्फबाट तर्नै नसकिने गरि निस्किएको निकासले अझ सौन्दर्यता थपेको छ ।

मनसुनी समयमा प्राकृतिक सौन्दर्यतामा रमाउन चाहने धेरै मानिस वर्षेनि यो पोखरीमा पुगेर फर्किन्छन् । वर्षेनि नाग पञ्चमी र जनै पूर्णिमाको दिन भने निकै भिड लाग्ने गर्दछ । हिमाली क्षेत्रको चट्टाने डाडाँकाडा पार गर्दै गईसकेपछि ठाउँ ठाउँमा ढकमक्क फुलेका हिमाली फुलहरुले मन नै फुरुङ्ग भएर आउँछ । केन्जो (रेनुम नोविल) माईकोपिला, पदमचाल लगायतका फुलहरुले भरिने त्यस क्षेत्रमा पुगे पछि फुलैफुलको बगैँचामा घुमेको आभास हुने गर्छ ।

हिमाली क्षेत्रमा पाईने विभिन्न प्रकारका फुलहरुले अनकन्टार डाँडाकाँडाको स्वरुप नै बदलिएको पाईन्छ भने चट्टानको थुप्रो भित्र छङ्छङ् आवाजमा बग्ने स–साना  खोल्सीको आवाजले छुट्टै आनन्द प्रदान गर्छ । विश्व संरक्षित सूचिमा रहेको रेड पाण्डा, बहुमुल्य जडिबुटी क्याञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराईतो, यार्सागुम्बा, कुड्की, बुढो ओखती लगायतका जडिबुटी पनि यहि क्षेत्रमा पाईन्छ । फाट्टफुट्ट रहेका गोठहरुमा पाइने न्यानो आतिथ्य, चौँरीको दुध र गोठालाहरुसँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन ।

ठुलो समूहमा बास बस्दा आफैँ खाना पकाएर खानु पर्छ, नत्र एक÷दुई जना गए गोठाला आफैँले पनि खाना पकाईदिन्छन् । प्रायः यात्रीहरुले नुन, तेल, मसला, तरकारी, चामल, ओढ्ने–ओछ्याउने लगायतको भारी बोकेर जाने गरे पनि नलिई जानेहरुले झनै गोठालाहरुसँगै खाना खाने सौभाग्य पाउँछन् । बरु गोठालाहरु रातभर जाग्राम बस्छन तर पाहुनाको रुपमा कसैले कुनै कष्ट झेल्नु पर्दैन । ‘झरीको समयमा दुःखका साथ आएका पाहुनाहरु भगवान आए झैँ लाग्छ त्यही भएर सकेसम्म सत्कार गरेका छौँ,’ सो क्षेत्रमा रहेका पशुपालक पेम्बा भोटेले भने ।

यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुईवटा फरक रुट रहेका छन् । जताबाट गए पनि दुईदेखि तीन दिनसम्मको पैदल यात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरिजंघास्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । यो पोखरीको आसपासमा अरु पनि स–साना थुप्रै पोखरी छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दुध पोखरी, मयुर पोखरी, नीर पोखरी लगायतका दर्जनौं पोखरी छन् । यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँहरु समेत देख्न सकिन्छ ।

तिम्बुङ पोखरी महोत्सव हुँदै

धार्मिक, जैविक तथा सांस्कृतिक महत्व बोकेको तिम्बुङ पोखरी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तिम्बुङ पोखरी महोत्सव आयोजना गरिँदै छ । सिदिङ्वा गाउँपालिकाको आयोजनामा यहि भदौ २२, २३ र २४ गते तीन दिनसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

महोत्सवलाई सफल बनाउनका लागि १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने ९ वटा उप–समिति गठन गरिएको गाउँपालिकाका अध्यक्ष नरवहादुर कडरियाले बताए ।

महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम, झाँकी प्रर्दशन, दृष्यअवलोकन, पुजापाठ लगायतका कार्यक्रम हुने आयोजकको भनाइ छ ।

महोत्सवका माध्यमबाट धार्मिक पर्यटकीय स्थल सिदिङवा धाम, सुन्दर ढङ्ढङे झरना, काली पोखरी, हात्ती ढुंगा लगायतका रमणीय तथा दर्शनीय स्थलहरु समेतको प्रचार प्रसारका साथै त्यस क्षेत्रको जैविक विविधताको संरक्षण, पर्यटन पुर्वाधारको विकास, सांस्कृतिक सम्पदाको प्रवर्द्धन हुन सक्ने गाउँपालिकाको विश्वास छ । यस अघि २०७० सालमा समेत तिम्बुङ पोखरी महोत्सव गरिएको थियो ।