
काठमाडौं । नोभेम्बर २०२२ मा त्रिभुवन विमानस्थल हुँदै ७२ हजार ६ सय ५३ विदेशी पर्यटक भित्रिएका छन् ।
नोभेम्बर २०१९ मा त्रिभुवन विमानस्थल र उत्तरी तथा दक्षिणी सडक नाकाबाट १ लाख ३० हजार ३ सय २ जना पर्यटक नेपाल भित्रिएका थिए । २०१९ नोभेम्बरलाई नोभेम्बर २०२२ सँग तुलना गर्दा पर्यटक आगमन ५५ दशमलव ७६ प्रतिशतले रिकभरी भएको देखिन्छ । सन् २०२२ को पहिलो ११ महिनामा ५ लाख ४६ हजार २ सय १६ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ को तुलनामा ५५ प्रतिशत हाराहारी हो ।
पर्यटन बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५ सय ८९, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार नौ सय ५७, जुलाईमा ४४ हजार ४ सय ६२, अगस्टमा ४१ हजार ३ सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय १४, अक्टोबरमा ८८ हजार ५ सय ८२ र नोभेम्बरमा ७२ हजार ६ सय ५३ पर्यटक भित्रिएका हुन् । नोभेम्बर २०२२ मा भारतबाट २० हजार ५ सय ३२ अर्थात् कुल संख्याको २८ दशमलव २६ प्रतिशत पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
कोभिडअघि भारतपछि सबैभन्दा धेरै पर्यटक चिनियाँ आउने गर्थे । तर, चीन सरकारले शून्य कोभिड नीति लिएर आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाउँदा नोभेम्बरमा चीनबाट १ हजार ३८ पर्यटक मात्र नेपाल भ्रमणमा आएका हुन् । भारतपछि सबै भन्दा धेरै पर्यटक भित्रिनेमा अमेरिका र युके रहेका छन् । नोभेम्बरमा अमेरिकाबाट ७ हजार ८ सय ३१ र युकेबाट ५ हजार १ सय ६५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
त्यस्तै, बंगलादेशबाट २ हजार २ सय १८, श्रीलंकाबाट १ हजार १८, मलेसियाबाट १ हजार ५ सय ९३, दक्षिण कोरियाबाट १ हजार ६ सय ७०, थाइल्यान्डबाट २ हजार ४ सय ४१, फ्रान्सबाट २ हजार ५ सय ६१, जर्मनीबाट २ हजार २ सय ९२, नेदरल्यान्डबाट १ हजार १ सय ४८, अस्ट्रेलियाबाट ३ हजार ३ सय ७५, क्यानडाबाट १ हजार १ सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
प्रतिक्रिया दिनुहोस्