Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


नवलपरासीमा शीतलहरबाट जोगाउन पूर्वतयारी


156
Shares

काठमाडौं । नवलपरासीको बर्दघाट सुस्तापश्चिममा चिसो तथा शीतलहरबाट जोगिन पूर्व तयारी थालिएको छ ।

चिसो बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी भएको बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको छ ।

शीतलहरका कारण विपन्न, गर्भवती, बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले उनीहरुलाई जोगाउन आवश्यक तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

यसका लागि जिल्लाका विभिन्न स्थानमा सामूहिक आगो ताप्ने व्यवस्था मिलाउन डिभिजन वन कार्यालयले न्यूनतम शुल्कमा दाउरा उपलब्ध गराउने तथा कम्बललगायत न्यानो कपडा प्रबन्धका लागि न्यूनतम मौज्दात तयार गर्ने निर्णय गरिएको जनाइएको छ ।

यस्तै, सडकमा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले सवारीसाधनमा फग्गी लाइटको अनिवार्य व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ ।