२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु हुँदैनः कुन्ती पोखरेल


273
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताउनुभएको छ ।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उहाँले यस्तो बताउनुभएको हो । राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएकी उहाँले पर्यटक उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भूगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं क्षेत्र नम्बर २ मा विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले साेही क्षेत्रको शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम, रोल्पाको भन्दा विकट स्थिति रहेको बताउनुभयो । उहाँले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

उहाँले कागेश्वरी क्षेत्रमा ४ लेनको बाटो भएपनि सडकमा नै ढल मिसिँदा कुनै पनि सवारी साधन नचलेकोस्थिति रहेको बताउनुभयो । उहाँले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

नेतृ पोखरेलले काठमाडौं-२ मा बजेट नआएको पाएमा वर्षौंदेखिको बजेटको हिसाब गरेर विकासका काम अघि बढाउने बताउनुभयो । उहाँले यहाँ विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरुसँग आग्रह समेत गर्नुभयो ।